९ असोज २०८३ English
English

तीन दिने भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

· १ मिनेट पढाइ
तीन दिने भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
तस्बिर: नागरिक

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किनुभएको छ। भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँदिल्ली प्रस्थान गर्नुभएका उहाँले अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो।

भ्रमणमा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा नेपाल–भारत आर्थिक सहकार्य, व्यापार, लगानी तथा कूटनीतिक सम्बन्ध विस्तारका विषय उठेका थिए। रसुवाको भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा भारतले दिएको सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिएको उहाँले बताउनुभएको छ। सोही अवसरमा उहाँले बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो।

भ्रमणका क्रममा उहाँ भारतीय उद्योग परिसङ्घको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको छ। दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो। कूटनीतिक, सामाजिक तथा आर्थिक–व्यावसायिक मञ्चमा पनि उहाँको सहभागिता रहेको थियो।

भेटघाटले दुई देशबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सहकार्य नयाँ ढङ्गले अघि बढाउन मद्दत पुग्ने अर्थमन्त्रीको सचिवालयको भनाइ छ।

यो समाचार भिडियोमा

तीन दिने भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

स्रोत

सम्बन्धित समाचार