ताप्लेजुङमा अलैँचीको मूल्य दुई सातामै ओरालो
ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छोटो अवधिमै मूल्य उल्लेख्य रूपमा घटेको छ। सदरमुकाम फुङलिङ बजारमा भदौको पहिलो सातादेखि प्रतिमन करिब ९६ हजार रुपैयाँमा कारोबार भएको अलैँची अहिले करिब ८२ हजार रुपैयाँमा झरेको छ। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार कारोबार सुरु भएको करिब दुई सातासम्म मूल्य स्थिर रहेको थियो।
भदौ तेस्रो सातादेखि भने मूल्य निरन्तर ओरालो लाग्न थालेको छ। छोटो समयमै प्रतिमन करिब १४ हजार रुपैयाँले मूल्य घटेपछि स्थानीय व्यापारीमा चिन्ता बढेको छ। राम्रो मूल्य पाउने अपेक्षामा रहेका किसान पनि सुरुआती चरणमै मूल्य घट्न थालेपछि प्रभावित भएका छन्।
अन्तर्राष्ट्रिय बजारबाट नयाँ उत्पादनको माग नआएका कारण मूल्य घटेको व्यवसायीको भनाइ छ। बाह्य माग नआएको अवस्थामा पनि स्थानीय व्यापारीले अघिल्लो वर्षको दरलाई आधार मानी आफैँ मूल्य तोकेर नयाँ फसलको कारोबार सुरु गरेका थिए।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


