दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने, मन्त्री पोखरेलको आश्वासन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने बताउनुभएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आइतबार बसेको दसौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतियोगिता हुने वा नहुनेबारे कसैले दुविधा नराख्न आग्रह गर्नुभएको हो। मन्त्री पोखरेलका अनुसार खेलकुदको उत्सव सोही दिनदेखि सुरु भइसकेको छ भने प्रतियोगिता मङ्सिर १६ देखि २९ गतेसम्म हुनेछ।
उहाँले यसपटकको आयोजना अघिल्ला संस्करणभन्दा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। सफल आयोजनाका लागि तीनै तहका सरकार र सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ। दसौँ संस्करणको मिति पटक–पटक सरेको छ र अहिलेको मिति पाँचौँ पटक तोकिएको हो।
२०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौँ संस्करण सम्पन्न भएपछि कर्णालीले दसौँ संस्करणको आयोजना जिम्मा पाएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् अर्थात् राखेपको ११५औँ बोर्ड बैठकले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधारलगायतका तयारी समयमै पूरा नहुँदा प्रतियोगिता सर्दै आएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

