पनौती, नमोबुद्ध र तेमाल जोड्ने बुद्ध परिपथ बन्ने

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पनौती, नमोबुद्ध र तेमाललाई जोडेर बुद्ध परिपथ बनाइने भएको छ। काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंका अनुसार संघीय सरकारले यसका लागि करिब २५ करोड रुपैयाँ छुट्याएको छ र काम क्रमागत बजेटबाट पूरा गरिनेछ। पहिलो चरणमा करिब १० करोड रुपैयाँ खर्चेर पनौतीको डबलीदेखि नमोबुद्धसम्म करिब ८ किलोमिटर सडकका दुवैतर्फ बुद्धसँग जोडिएका भौतिक र सांस्कृतिक संरचना बनाइनेछन्।
सडकछेउमा माने, चैत्य र लाफिङ बुद्धका मूर्ति राखिनुका साथै थान्का कलासहितका सूचनापाटी पनि लगाइनेछन्। परिपथको गुरुयोजना तयार भइसकेको र चलिरहेका सडकलाई नै परिपथका रूपमा विकास गरिने सांसद चौलागाईंले बताउनुभएको छ। नमोबुद्ध–भकुण्डे सडकखण्डअन्तर्गत दाप्चाको बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क बनाउने योजना स्वीकृतिका लागि बागमती प्रदेशको वन मन्त्रालयमा प्रक्रिया अघि बढेको छ।
बीपी राजमार्गको भकुण्डेबेँसी चारदोबाटोमा विभिन्न धर्म र संस्कृतिका प्रतीक झल्कने ‘सांस्कृतिक सङ्गम गेट’ बनाइनेछ। नमोबुद्धबाट भकुण्डेबेँसी हुँदै तेमाल पुग्ने करिब २५ किलोमिटर सडकमा पनि यस्तै संरचना बनाइनेछन्। तेमालको याङबेलमा गुरु रेन्पोछेको विशाल मूर्तिसहित बुद्ध पार्क बनाउन जग्गा प्राप्तिको काम अघि बढाइएको छ।
पार्कमा घण्टाघर, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल बनाउने योजना रहेको सांसद चौलागाईंले जानकारी दिनुभएको छ। थान्का विद्यालय खुलेपछि स्थानीयले सिक्न सहर जानु नपर्ने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

