मूल्य समायोजन नहुँदा आयल निगमको घाटा बढ्दो

इन्धनको मूल्य स्वचालित प्रणालीअनुसार समायोजन नगरिँदा नेपाल आयल निगमको घाटा बढ्दै गएको छ। निगमले गत साउन १७ गतेयता पेट्रोलियम पदार्थको भाउ परिवर्तन गरेको छैन। इन्डियन आयल कर्पोरेसनले असोज १४ गते पठाएको नयाँ मूल्यसूचीमा भाउ बढेर आए पनि निगमले बिक्री मूल्य यथावत् राखेको छ।
निगमका अनुसार नयाँ सूचीमा डिजल र पेट्रोल प्रतिलिटर करिब २० रुपैयाँ, मट्टितेल करिब १६ रुपैयाँ र हवाई इन्धन करिब १९ रुपैयाँ महँगो भएको छ। खाना पकाउने ग्यास प्रतिसिलिन्डर करिब ८१ रुपैयाँ बढेको छ। यही कारण १५ दिनमा करिब ३ अर्ब २० करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ।
त्यसअघिको १५ दिनमा निगमले करिब १ अर्ब ९२ करोड रुपैयाँ घाटा बेहोरेको थियो। साउन १७ यता कुल घाटा करिब ५ अर्ब रुपैयाँ पुगेको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताउनुभएको छ। दसैँ तिहारमा डिजल महँगो हुँदा ढुवानी भाडा र बजार भाउ बढ्ने भएकाले अहिले मूल्य नबढाउने निर्णय गरिएको उहाँले बताउनुभएको छ।
निगमसँग कुनै ऋण नरहेको र मूल्य स्थिरीकरण कोषमा करिब ४ अर्ब रुपैयाँ रहेको साहको भनाइ छ। एक दशकअघि यस्तै अवस्थामा निगमको घाटा करिब ३८ अर्ब रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका बेला मूल्य नघटाएर निगमले त्यो घाटा पूर्ति गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

