ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा

ब्राजिलमा आज आइतबार राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदै छ, जसमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा छ। मतसर्वेक्षणहरूले दुवै उम्मेदवार लगभग बराबरीमा रहेको देखाएका छन्। कुनै उम्मेदवारले आधाभन्दा बढी मत नपाए शीर्ष दुई उम्मेदवारबीच अक्टोबर २५ मा दोस्रो चरणको मतदान हुनेछ।
वामपन्थी झुकावका लुला चौथो कार्यकालका लागि मैदानमा हुनुहुन्छ। फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ र उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिन्छ। बोल्सोनारोले निजीकरण, खर्च कटौती र अमेरिकासँग निकट सम्बन्धलाई प्राथमिकता दिनुभएको छ।
ल्याटिन अमेरिकाका बोलिभिया, चिली, कोलम्बिया र पेरुमा हालै अनुदारवादी नेता सत्तामा पुगेका छन्। दुर्लभ खनिजजस्ता क्षेत्रमा ट्रम्प प्रशासनसँग राम्रो सम्झौता गर्नुपर्ने बोल्सोनारोको धारणा छ। लुलाले भने ब्राजिलको सार्वभौमसत्तालाई अभियानको केन्द्रमा राख्नुभएको छ।
उहाँले ६ दिने कार्य हप्ता घटाउने, न्यून आयका नागरिकको आयकर कटौती गर्ने र प्रहरी सुधारको वाचा गर्नुभएको छ। अमेरिकाले ब्राजिली निर्यातमा उच्च भन्सार लगाएपछि लुलाले अमेरिकी हस्तक्षेपको जोखिमबारे चेतावनी दिँदै आउनुभएको छ। सञ्चार माध्यमका अनुसार करिब १५ करोड ९० लाख मतदाताले राष्ट्रपतिसँगै राज्यका गभर्नर, सङ्घीय कङ्ग्रेस र सिनेटका सदस्य पनि चुन्नेछन्।
विश्लेषक थोमस ट्राउम्यानका अनुसार तीव्र ध्रुवीकरणका कारण यो निर्वाचन नीतिगत बहसभन्दा आरोप-प्रत्यारोपमा केन्द्रित भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
