महासभामा गुटेरेस: नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गर्यो

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा भएका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको बताउनुभएको छ। न्युयोर्कमा जारी राष्ट्रसङ्घको ८१औँ महासभाको साधारण बहसको उद्घाटन सत्रलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट ‘विश्वको छाना भत्किँदै गएको’ भन्दै दिएको चेतावनी स्मरण गर्नुभयो। त्यसलाई कतिपयले अतिरञ्जित ठानेर बेवास्ता गरे पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अपेक्षाभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको उहाँको भनाइ छ।
नेपालको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको उहाँले उल्लेख गर्नुभयो। तापक्रम वृद्धिका कारण हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या भोग्नुपर्ने चेतावनी पनि उहाँले दिनुभयो। कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपालजस्ता मुलुकले नै ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताउनुभयो।
जलवायु सङ्कटलाई पुस्ता–पुस्ताबीचको शक्ति असन्तुलनको सबैभन्दा गहिरो रूप भन्दै उहाँले विश्व तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसको सीमाभन्दा माथि जाने अवस्था निश्चितप्रायः रहेको समेत उल्लेख गर्नुभयो। जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरेको आरोप लगाउँदै उहाँले विकासशील मुलुकलाई पर्याप्त जलवायु वित्त उपलब्ध गराउन आग्रह गर्नुभयो। रुसले युक्रेनमा आक्रमण गरेयता पाँच प्रमुख पश्चिमी तेल कम्पनीले करिब पाँच खर्ब अमेरिकी डलर नाफा कमाएको, तर अनुकूलनका लागि परिचालित जलवायु वित्त करिब ३४ अर्ब डलर मात्र रहेको उहाँले जनाउनुभयो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


