तीन महिनामा मधेशबाट झन्डै २८ करोडको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट झन्डै २७ करोड ८५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जनाएको छ। बरामद सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्ट्स र सौन्दर्य सामग्री छन्। सशस्त्र प्रहरीका अनुसार ती सामान ओसार्न प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन नियन्त्रणमा लिई भन्सारमा बुझाइएको छ।
सोही अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यको १ हजार १ सय क्युबिक फिट काठ र १ सय २ ग्राम चाँदी पनि फेला परेको छ। यस काममा संलग्न ८४ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा हस्तान्तरण गरिएको छ। सीमा क्षेत्रबाट करिब १ हजार ६ सय ६ किलो गाँजा, साढे ९ किलो चरेस र १ सय ९३ ग्राम ब्राउन सुगर बरामद भएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ।
त्यस्तै ३ कटुवा पेस्तोल, २ सिक्सर र २ भरुवा बन्दुक पनि बरामद भएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

