मनाङमा तत्काल अत्यावश्यक काम अघि बढाइने: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरो प्रभावित मनाङमा अत्यावश्यक काम तत्काल अघि बढाइने बताउनुभएको छ। बुधबार सदरमुकाम चामे पुगेर स्थलगत निरीक्षण गर्दै उहाँले अवरुद्ध सडक, पुल र खानेपानीलगायत पूर्वाधार छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ। प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक काम पनि तुरुन्तै थालिने उहाँको भनाइ छ।
ठाडो र लमजुङ हिमालको आधार शिविर क्षेत्रबाट बग्ने घट्टेखोलामा केही दिनअघि आएको बाढीपहिरोले मर्स्याङ्दी नदी थुनिएको थियो। मुख्यमन्त्रीले त्यसपछि त्रासमा रहेका स्थानीयको गुनासो सुन्नुभएको छ। अहिले पानी बगिरहे पनि बगरमा थुप्रिएको ढुङ्गा र गेग्रानले घरहरू जोखिममा छन् र पक्की पुल पुरिएको छ।
स्थानीयका अनुसार बाढीपहिरोले चामेका ६ घर क्षतिग्रस्त भएका छन्। नदी पुलको दायाँबायाँबाट बग्न थालेकाले केही होटल र घर डुबानमा परेका छन् र बुधबार एउटा होटल बगेको छ। मनाङ जोड्ने एकमात्र सडक बेसीशहर–चामेमा दर्जनौँ ठाउँमा पहिरो गएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


