बेनी बजारमाथिको पाखो चर्कियो, पहिरोको जोखिम

म्याग्दीको सदरमुकाम बेनी बजारमाथिको पाखोमा जमिन चर्किएर पहिरो खस्न थालेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बजारको न्युरोड पछाडिको पाखोमा पछिल्ला ३ दिनमा चिरा झन् फराकिलो हुँदै गएको छ। स्थानीय सन्तोष ढुङ्गानाका अनुसार असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षापछि जमिन गलेको हो र बुधबार बिहान खसेको पहिरो बाँसको झाडीमा अड्किएको छ।
करिब ३ सय मिटर उचाइ र ५ सय मिटर चौडाइको खरबारी क्षेत्रको माथिल्लो भाग १ मिटरभन्दा बढी भासिएको स्थानीयले बताएका छन्। पहिरोले पाखोमा बनेको पक्की पदमार्गलाई पनि असर पुर्याएको छ। चिरा परेको ठाउँको पानी पाइपमार्फत हटाउने प्रयास गरिएको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मंगलबार जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी भूगर्भविद्बाट अध्ययन गराउन सरकारसँग सिफारिस गरेको बताउनुभएको छ। उहाँले बजारवासीलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


