९ असोज २०८३ English
English

ग्यास अभाव टार्न तीन तहको योजना, साप्ताहिक आपूर्ति बढाउने तयारी

· १ मिनेट पढाइ
ग्यास अभाव टार्न तीन तहको योजना, साप्ताहिक आपूर्ति बढाउने तयारी
तस्बिर: नेपाल प्रेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको अभाव टार्न सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहको योजना बनाएको बताउनुभएको छ। बिहीबार राष्ट्रियसभामा सांसद रुक्मिणी कोइरालाले इन्धनको लगातार मूल्यवृद्धि र ग्यास अभावबारे सरकारको योजना सोधेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। मन्त्री साहका अनुसार हप्तामा नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको छ।

भन्सार जाँचपास छिटो गर्न अर्थ मन्त्रालय र सडकको जाम व्यवस्थापन गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको छ। कृष्णभिर सडकखण्ड आपूर्तिको मुख्य अवरोधबिन्दु भएकाले सडक विभागसँग समन्वय गरिएको मन्त्री साहको भनाइ छ। मन्त्रालयले समस्याको जड पत्ता लगाउन फिसबोन डायग्राम नामको प्राविधिक विश्लेषण विधि प्रयोग गरेको छ।

उक्त विश्लेषणमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्य, भण्डारण र रिफिलिङ, वितरणमा असमानता, खाली सिलिन्डर फिर्तामा ढिलाइ, कालोबजारी र निकायबीच समन्वय अभाव मुख्य कारण देखिएका छन्। पेट्रोल, डिजेल र हवाई इन्धनको भने अभाव नरहेको उहाँले स्पष्ट पार्नुभएको छ। ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर अनावश्यक खर्च कटौती गरिने पनि मन्त्री साहले बताउनुभएको छ।

नेपाल आयल निगमका अनुसार हाल एक सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २,०६० रुपैयाँ छ।

यो समाचार भिडियोमा

ग्यास अभाव टार्न तीन तहको योजना, साप्ताहिक आपूर्ति बढाउने तयारी

स्रोत

सम्बन्धित समाचार