कार्यविधिविपरीत भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले कार्यविधिविपरीत अति विशिष्ट अर्थात् भीभीआईपी र विशिष्ट अर्थात् भीआईपी व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र आफ्नो दरबन्दी रहेको कार्यालयमा फर्काउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई यस्तो निर्देशन असोज २२ गते नै दिइसकिएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सुरक्षाकर्मीलाई सुरक्षाको जिम्मेवारीबाहेक घरायसी र व्यक्तिगत काममा लगाइएको व्यापक गुनासो मन्त्रालयमा आएको छ।
'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१' ले बहालवाला र पूर्वकर्मचारी तथा सुरक्षाकर्मीलाई उपलब्ध हुने व्यक्तिगत सुरक्षाकर्मी अर्थात् पीएसओको स्पष्ट व्यवस्था गरेको मन्त्रालयले स्मरण गराएको छ। कार्यविधिविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई अनिवार्य रूपमा फिर्ता पठाउनुपर्ने निर्देशनमा उल्लेख छ। आदेश नमानी सुरक्षाकर्मी खटाएको भेटिए त्यसको निर्णय गर्ने अधिकृतमाथि पनि कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ।
सुरक्षाकर्मीलाई घरायसी वा निजी काममा प्रयोग गरेको थाहा पाएमा खटिएका सुरक्षाकर्मी स्वयं र सर्वसाधारणले उजुरी दिन सक्नेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


