थामी भाषामा राष्ट्रिय गीत सार्वजनिक

नेपाल थामी समाजले थामी भाषामा पहिलोपटक राष्ट्रिय गीत तयार गरेर सार्वजनिक गरेको छ। समाजको २७औँ वार्षिक साधारणसभाको अवसरमा काठमाडौँमा बागमती प्रदेशसभा सदस्य ठूला थामी, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवार र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीलगायतले गीत सार्वजनिक गर्नुभएको हो। प्रदेशसभा सदस्य थामीले आफ्नै मातृभाषामा राष्ट्रिय गीत आउनु समुदायका लागि ठूलो उपलब्धि भएको बताउनुभएको छ।
गीतले थामी समुदायलाई एकताबद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै उहाँले संस्कार, संस्कृति र समुदायको उन्नतिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष शिवाकोटीले थामी भाषा, संस्कार र संस्कृतिको संरक्षणमा गाउँपालिकाले दिँदै आएको सहयोग आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ। उपाध्यक्ष सुनुवारले गीतले समुदायलाई एकताको डोरीमा बाँध्न भूमिका खेल्ने बताउनुभएको छ।
समाजका अध्यक्ष रणबहादुर थामीले थामी भाषामै राष्ट्रिय गीत बन्नुलाई खुसीको विषय भन्नुभएको छ। गीतको रचना रमेश थामी 'छड्केसलाम'ले गर्नुभएको हो। शिखर थामी 'विद्यालली', शक्ति थामी, तीर्थराज थामी, मनु थामी, सविना थामी, रामकुमार थामी, कमला थामी, प्रमोद थामी र सुन्दर थामी गरी नौ जना गायकले स्वर दिनुभएको छ।
सङ्गीत संयोजन खुशी थामीको रहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


