१५ कात्तिक २०८३ English
English

आफ्नै नेभिगेसन प्रणाली बलियो बनाउन भारतले नयाँ उपग्रह प्रक्षेपण गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आफ्नै नेभिगेसन प्रणाली बलियो बनाउन भारतले नयाँ उपग्रह प्रक्षेपण गर्‍यो

YouTube मा सब्स्क्राइब

भारतले स्वदेशी नेभिगेसन प्रणाली 'नाभिक' लाई थप सक्षम बनाउन नयाँ पुस्ताको उपग्रह एनभीएस–०३ अन्तरिक्षमा पठाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन, इसरोका अनुसार उपग्रह जीएसएलभी–एफ१८ रकेटबाट शुक्रबार राति स्थानीय समय ११ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएको हो। प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट भएको थियो।

रकेटले उपग्रहलाई तोकिएको कक्षमा सफलतापूर्वक पुर्‍याएको इसरोले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। इसरोका अनुसार यो जीएसएलभी शृङ्खलाको २०औँ उडान हो। नयाँ पुस्ताका नेभिगेसन उपग्रहमध्ये तेस्रो एनभीएस–०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली, आईआरएनएसएसको सेवा निरन्तर राख्ने अपेक्षा छ।

उपग्रहमा भारतमै बनेको परमाणु घडी जडान गरिएको छ, जसले स्थान र समयको अझ सटीक तथ्याङ्क दिनेछ। यो प्रणालीले भारतीय भूभागका साथै सीमाबाट करिब १५ सय किलोमिटरसम्मको क्षेत्र समेट्नेछ। नक्साङ्कन, सडक, हवाई तथा जल यातायात, उद्धार र सुरक्षामा यस्तो प्रविधि अपरिहार्य मानिन्छ।

उपग्रहले विपद् व्यवस्थापन र मोबाइल प्रविधिमा पनि सघाउने विश्वास गरिएको छ। अमेरिकी जीपीएसमाथिको निर्भरता घटाउन भारतले आफ्नै प्रणाली विकास गरेको हो। विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले इसरोका वैज्ञानिकलाई बधाई दिँदै यो सफलताले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता तथा स्वदेशी प्रणाली बलियो बनाउने प्रतिबद्धता देखाएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार