दसौँ राष्ट्रिय खेलकुदका केही खेल नेपालगञ्जमा, रङ्गशालामा फ्लडलाइट जडान

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल बाँकेको नेपालगञ्जमा गराउने तयारी भइरहेको छ। कर्णाली प्रदेशको सुर्खेतमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म यो प्रतियोगिता हुँदैछ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र सहसचिव रमेश ढकालसहितको टोलीले सोमबार नेपालगञ्ज रङ्गशालाको निरीक्षण गरेको छ।
सुर्खेतको तयारी हेरेर फर्किँदा टोलीले रङ्गशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज र कभर्ड हल हेरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभएको छ। यसैबीच, रात्रिकालीन प्रतियोगिता चलाउने सरकारी योजनाअनुसार उक्त रङ्गशालामा फ्लडलाइट जडान भइरहेको छ। गर्मीका कारण दिउँसो खेल्न कठिन हुने नेपालगञ्जमा फ्लडलाइटपछि राति पनि नियमित अभ्यास र प्रतियोगिता गर्न सकिने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले बताउनुभएको छ।
यसले नेपालगञ्जलाई खेल पर्यटन गन्तव्य बनाउन पनि सघाउने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

