सामाजिक सञ्जालको लत घटाउन पुस्तक पढ्नेलाई पैसा दिने सिंगापुरको योजना
सामाजिक सञ्जालमा नकारात्मक सामग्री निरन्तर स्क्रोल गर्ने बानी घटाउन सिंगापुरले दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्ने नागरिकलाई सानो रकम दिने योजना ल्याएको छ। यो बानीलाई 'डुमस्क्रोलिङ' भनिन्छ। यसै महिना सुरु भएको खेलजस्तै पुरस्कार दिने 'गेमिफिकेसन' रणनीतिले नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पनाशक्ति सुधार्ने अपेक्षा सरकारले गरेको छ।
योजनाअनुसार १५ मिनेट वा सोभन्दा लामो १ पठन सत्रबापत २० भर्चुअल सिक्का दिइन्छ, तर दिनमा १ पटक मात्र सत्र दर्ता गर्न पाइन्छ। १ सिंगापुर डलर पाउन १ हजार सिक्का अर्थात् सरकारी वेबसाइटमा ५० वटा पठन सत्र दर्ता गर्नुपर्छ। सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डकी प्रमुख मेलिसा टामले पढ्ने दिगो संस्कृति साना तथा पूरा गर्न सकिने कदमबाट विकास हुने बताएकी छन्।
द स्ट्रेट्स टाइम्ससँग कुरा गर्दै उनले बसमा यात्रा गर्दा, सुत्नुअघि वा दिउँसोको खाना खाँदा दिनमा १५ मिनेट मात्र पढ्न आग्रह गरेकी छन्। सिंगापुर सरकारले यसअघि पनि नागरिकको व्यवहार बदल्न हिँडेबापत सुपरमार्केट भौचर र दैनिक पाइलाको लक्ष्य पूरा गर्नेलाई पुरस्कार दिने योजना ल्याइसकेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


