९ असोज २०८३ English
English

ढोरपाटनमा सिकार याम सुरु, १० नाउर र ७ झारलका लागि अनुमति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ढोरपाटनमा सिकार याम सुरु, १० नाउर र ७ झारलका लागि अनुमति
तस्बिर: नागरिक

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ। असोजदेखि मङ्सिरसम्म चल्ने यस याममा १० नाउर र ७ झारलको सिकार गर्न अनुमति दिइएको छ। विदेशी सिकारी भित्र्याउन वन्यजन्तु विभागबाट ठेक्का पाएको कम्पनीसँग समन्वय भइरहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौमा सिकार गराउन इच्छुक कम्पनीबाट प्रतिस्पर्धात्मक दरभाउपत्र माग गरेको थियो। रुस, अमेरिका, स्पेन, डेनमार्क, फ्रान्स र अफ्रिकी मुलुकका सिकारी विगत केही दशकदेखि ढोरपाटन आउने गरेका छन्। गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार हुँदा करिब ४ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

गत वर्ष एउटा नाउरको मूल्य करिब २० लाख रुपैयाँ परेको थियो। यस वर्षको पहिलो यामको राजस्व बुझाउने काम भइरहेको छ। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन्।

विदेशी सिकारी समूहले तोकिएको ब्लकमा १५ दिनभित्र सिकार सक्नुपर्ने नियम छ। दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म हुनेछ। विसं २०४४ मा स्थापित आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ।

गत वर्ष करिब ३७ हजार आन्तरिक र बाह्य पर्यटक आरक्ष घुम्न पुगेको आरक्ष कार्यालयले जनाएको छ।

यो समाचार भिडियोमा

ढोरपाटनमा सिकार याम सुरु, १० नाउर र ७ झारलका लागि अनुमति

स्रोत

सम्बन्धित समाचार