एसियाड क्रिकेट: नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। आइचीको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १०२ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे।
अफगानिस्तानका फैसल खान र नजिबुल्लाह जाद्रानले समान ३० रन जोडे। जवाफमा नेपालले १७.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेटायो। सन्दीप जोराले ३५ बलमा सर्वाधिक ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे।
दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए। ओपनर कुशल भुर्तेल भने ब्याटिङमा शून्यमा आउट भए। टोलीले पदक जित्ने लक्ष्य राखेको र सुरुदेखि नै विपक्षीलाई दबाबमा राखेको कप्तान ऐरीले बताए।
अफगानिस्तानले यसअघि आयोजक जापानलाई ४८ रनले हराएको थियो। यो नतिजापछि समूहमा नेपाल र अफगानिस्तान दुवैका समान २ अंक छन्। नेपालले शनिबार समूहको अन्तिम खेलमा जापानसँग खेल्नेछ।
समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग खेल्नेछ। एसियाडको पुरुष क्रिकेटमा यसपटक १० टोली सहभागी छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

