२४ कात्तिक २०८३ English
English

साम्राको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साम्राको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग, एनपीएलमा लगातार चार हारपछि पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जित निकालेको छ। कीर्तिपुरमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ३ विकेटमा २१७ रन बनाएको थियो। क्यानडाका ओपनर युवराज सिंह सम्राले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए।

उनले ४५ बलमै शतक पूरा गरेका थिए। यो यस सिजनको पहिलो र एनपीएल इतिहासको चौथो शतक हो, जसमध्ये तीन पोखराका खेलाडीले बनाएका छन्। सम्रा र कुशल भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको साझेदारी भएको थियो।

भुर्तेलले ३९ बलमा ६२ र चमिका करुणारत्नेले ११ बलमा अविजित ३५ रन जोडे। पोखराको २१७ रन यस सिजनको सर्वाधिक र एनपीएल इतिहासकै दोस्रो ठूलो योगफल हो। सबैभन्दा ठूलो २२० रनको योगफल विराटनगर किंग्सले दोस्रो संस्करणमा बनाएको थियो।

जवाफमा कर्णाली १८ ओभर ३ बलमा १५४ रनमा अलआउट भयो। पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। पोखराका मेहदी हसनले ३ तथा धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले २–२ विकेट लिए।

जितसँगै पोखरा ५ खेलमा २ अंकसहित तालिकाको पुछारमा छ भने कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। सम्राले आफ्नो पहिलो एनपीएल शतक आमाबुबालाई समर्पित गरेको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार