दसौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, प्रदेशमा बन्द प्रशिक्षण सुरु

कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि सुरु हुने भएका छन्। प्राविधिक समितिले स्वीकृत गरेको तालिकाअनुसार पहिलो दिन ६ वटा खेल हुनेछन्। ती खेलमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन्।
प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कुल ३२ खेलमध्ये २३ वटा सुर्खेतमा हुनेछन्। टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा तथा शारीरिक सुगठन पश्चिम रुकुममा हुनेछ।
आईटीएफ तेक्वान्दो दैलेखमा, बुद्धिचाल कालिकोटमा र पौडी तथा सुटिङ नेपालगञ्जमा हुने तय भएको छ। यसैबीच आयोजक कर्णालीका खेलाडीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ। सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रशिक्षणको शुभारम्भ गर्दै धेरै पदक जित्न कर्णालीले मेहनत गर्नुपर्ने बताउनुभएको छ।
दसैँलगत्तै सुरु गर्ने भनिएको यो प्रशिक्षण केही ढिलो गरी थालिएको हो। पहिलो चरणमा ह्यान्डबल र ब्याडमिन्टनका खेलाडी प्रशिक्षणमा छन्। सुदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडीले ३० खेलमा भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले जानकारी दिनुभएको छ।
उक्त प्रदेशको छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म कञ्चनपुर र कैलालीमा हुनेछ। साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीका खेलाडी भने छनोटबिनै सहभागी हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
