महाकवि देवकोटाको ११८औँ जयन्ती, स्रष्टा सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्ती आइतबार काठमाडौँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनकी संस्थापक अध्यक्ष इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको छ। उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको शालिकमा पनि माल्यार्पण गर्नुभएको छ।
निकेतनले आयोजना गरेको काव्य सभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको छ। लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्राध्यापक केशव सुवेदी, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्राध्यापक डाक्टर महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत वक्ताले तीन स्रष्टाको बाटो पछ्याउनु नै उनीहरूप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभएको छ। यता गोकर्णेश्वर–५ स्थित नयाँ बस्ती युवा क्लबले जयन्ती र आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ।
प्रकाशित विवरणअनुसार प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई ५१ हजार रुपैयाँ र युवा सर्जक तथा समाजसेवी निर्मल अर्याललाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति डाक्टर गंगा उप्रेती र गोकर्णेश्वरका नगरप्रमुख दीपक रिसालले समाज निर्माणमा साहित्यको ठूलो भूमिका रहने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


