तिहार बिदामा मुस्ताङ र मर्दीमा पर्यटक बढे

तिहारको लामो सरकारी बिदासँगै हिमाली जिल्ला मुस्ताङ र कास्कीको मर्दी हिमाल पदमार्गमा पर्यटकको चाप बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १५ गतेसम्म करिब ३५ हजार ९ सय पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये करिब २७ हजार १ सय स्वदेशी र झन्डै ८ हजार ८ सय विदेशी छन्।
दसैँताका भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको पूर्वानुमानले अपेक्षाअनुसार पर्यटक आएका थिएनन्, तर मौसम अनुकूल बनेपछि आगमन बढेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार विद्यालय, कलेज, सरकारी र गैरसरकारी कार्यालय, बैंक तथा सहकारीका समूह घुम्न आउने गरेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ मन्दिर दर्शनपछि लोमान्थाङ, कागबेनी, मार्फा र उत्तरी कोरला नाकासम्म पुगेका छन्।
छठसम्म सरकारी बिदा रहने भएकाले पर्यटक आउने क्रम जारी रहने व्यवसायीहरूको अपेक्षा छ। यता पोखरा नजिकैको मर्दी हिमाल पदमार्गमा दैनिक करिब ६ सयदेखि ७ सय पर्यटक पदयात्रामा जाने गरेका छन्। एउटै पदमार्गबाट धेरै हिमचुचुरा देखिने र तुलनात्मक रूपमा कम जोखिम हुने भएकाले यो गन्तव्य रोजाइमा परेको हो।
मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार असोजदेखि नै चाप बढेपछि होटलमा कोठा मिलाउन कठिन भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


