११ असोज २०८३ English
English

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनाल: दिगो विकास लक्ष्यमा अब नतिजा देखाउने बेला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनाल: दिगो विकास लक्ष्यमा अब नतिजा देखाउने बेला

YouTube मा सब्स्क्राइब

परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न बाँकी वर्षहरूलाई तीव्र कार्यान्वयनको अवधि बनाउनुपर्ने बताउनुभएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, अर्थात् जीडीआईको पाँचौँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको हो। मन्त्री खनालका अनुसार दिगो विकास लक्ष्यमध्ये करिब ३६ प्रतिशत मात्र सही दिशामा अघि बढेका छन्।

विकासशील मुलुकले वार्षिक करिब ४ ट्रिलियन अमेरिकी डलरको वित्तीय अभाव भोगिरहेको उहाँले उल्लेख गर्नुभएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको जीडीआईलाई व्यवहारमा उतार्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभएको छ। नेपाल जीडीआईको ग्रुप अफ फ्रेन्ड्समा आबद्ध भइसकेको छ।

गरिबी न्यूनीकरण, कृषि, नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणमा सहकार्यको सम्भावना रहेको उहाँको भनाइ छ। गत भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीको प्रसङ्ग उठाउँदै उहाँले विपद्का बेला सहयोग गरेकोमा चीनप्रति आभार व्यक्त गर्नुभएको छ। जीडीआईको आगामी चरणमा चीन, राष्ट्रसंघ र सबै साझेदारसँग काम गर्न नेपाल तयार रहेको उहाँले बताउनुभएको छ।

महासभाकै अवसरमा भएको समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकमा उहाँले विकासशील देशको आवाज बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचना सुधार्न आह्वान गर्नुभएको छ। जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा आधारित जलवायु वित्त आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार