थारू समुदायले कात्तिक १ गते दसैँको ढिक्री पूजा गर्ने

थारू समुदायले यस वर्षको दसैँमा कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय गरेको छ। अष्टमी तिथिबारे अन्योल हुँदा दसैँ कुन दिन मनाउने भन्नेमा द्विविधा देखिएपछि दाङको घोराहीमा शुक्रबार बसेको थारू अगुवाहरूको बृहत् छलफलले मिति र विधि टुङ्गो लगाएको हो। मटाँवा बरघर भलमन्सा सङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकमा मटाँवा, गुर्वा, अध्येता, पत्रकार र थारू कल्याणकारिणी सभाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।
सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार थारू समुदायमा कुवाँर भनिने असोज महिनाको २५ गते घरघरमा जमरा राखिनेछ। असोज ३१ गते पैनस्टोपी-ढक्या र गोन्द्री धोइनेछ। कात्तिक २ गते पुर्खालाई पित्तर दिइनेछ।
सोही दिन भुह्यारथानमा बर्कीमार, जमरा र बेबरी लगाइने तथा मटाँवाका घरमा गउँल्या टीका लगाइने चौधरीले बताउनुभएको छ। समुदायभर दसैँको तिथि र विधिमा एकरूपता ल्याउन छलफल आयोजना गरिएको जनाइएको छ। थारू कल्याणकारिणी सभा, मटाँवा, बरघर र भलमन्सा सङ्घलगायत संस्थाले यही निर्णयअनुसार चाड मनाउन समुदायलाई आग्रह गरेका छन्।
कोषाध्यक्ष चौधरीले छलफलमा थारू दसैँको इतिहास, दर्शन र महत्त्वबारे जानकारी दिनुभएको थियो। सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरी, संस्कृतिविद् बेझलाल चौधरी र अध्येता डा. जर्मन चौधरीलगायतले पुर्खाको परम्परा जोगाउँदै दसैँ मनाउनुपर्नेमा जोड दिनुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


