बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन शुक्रबार वसन्तपुरमा सामूहिक दीप प्रज्वलन

भोटेकोशी बाढी गएको एक महिना पुगेको अवसरमा जलवायुजन्य विपद्का प्रभावितप्रति ऐक्यबद्धता जनाउन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा शुक्रबार सामूहिक दीप प्रज्वलन गरिने भएको छ। असोज १६ गते दिउँसो ३ बजेदेखि साँझ ६:१५ बजेसम्म कार्यक्रम चल्ने आयोजकले जनाएको छ। एक्शनएड नेपाल, युथ एड्भोकेसी नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज र चितवन सक्रिय महिला प्रतिष्ठानलगायत संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिरहेका छन्।
कार्यक्रमबाट तीनवटा माग उठाइने छन्। प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने पहिलो माग छ। पुनर्स्थापना, अनुकूलन र हानि–नोक्सानी सम्बोधनका लागि अनुदानमा आधारित पर्याप्त जलवायु वित्त चाहिने दोस्रो माग छ।
ठूला उत्सर्जकले उत्सर्जन कटौती गर्दै क्षतिको जिम्मेवारी लिनुपर्ने तेस्रो माग रहेको आयोजकले जनाएको छ। सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अनियमित वर्षा र बाढीले श्रमिक महिलाको दैनिकी र आयमा प्रत्यक्ष असर परेको बताउनुभएको छ। युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले हिमाली क्षेत्रका बासिन्दा बढी प्रभावित भएको भन्दै विकास मोडेल वातावरण र सामाजिक न्यायमैत्री हुनुपर्ने बताउनुभएको छ।
उहाँले जलवायु परिवर्तनको विषय भू–राजनीतिसँग पनि जोडिएको उल्लेख गर्नुभएको छ। एक्शनएड नेपालका राहुल देवानले सीमान्तकृत र अल्पसंख्यक समुदायको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्ने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


