नाकाबन्दी हटे हर्मुज खोल्ने इरानको सर्त, इरानी विमानमाथि हवाई प्रतिबन्ध

अमेरिकाले सैन्य दबाब घटाएर इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाए ७ दिनभित्र हर्मुज जलमार्ग फेरि खोल्न सकिने एक वरिष्ठ इरानी अधिकारीले बताएका छन्। समाचार संस्था रोयटर्ससँग कुरा गर्दै ती अधिकारीले अमेरिकाले कूटनीतिक समाधान चाहेको आधिकारिक घोषणा गर्नुपर्ने र प्रक्रियाको समयसीमामा सहमति हुनुपर्ने बताएका छन्। उनका अनुसार महासभाका लागि न्युयोर्कमा रहेको इरानी प्रतिनिधिमण्डललाई अमेरिकासँग वार्ता फेरि सुरु गर्ने पूर्ण अधिकार छ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियान मङ्गलबार बिहान तेहरानबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। आइतबार इरानको केन्द्रीय सैन्य कमान्डले क्षेत्रीय देशको साथमा अमेरिका फेरि सैन्य कारबाहीको तयारीमा रहेको जानकारी पाएको भन्दै त्यसो भए सीमाविहीन जवाफ दिने चेतावनी दिएको थियो। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बर २३ अर्थात् भोलिदेखि इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गर्नुभएको छ।
त्यसपछि टर्की, इराक र जर्जियाले पनि इरानी एयरलाइन्समाथि रोक लगाउने घोषणा गरेका छन्। समाचार संस्था एएफपीका अनुसार इराकले इरानी उडान स्थगित गर्ने र जर्जियाले आफ्नो हवाई क्षेत्रमा इरानी विमानको प्रवेश निषेध गरेको छ। इरानी कम्पनी महान एयरले टर्की सरकारको आग्रहमा शनिबार नै टर्कीका उडान स्थगित गरेको थियो।
अमेरिकी अर्थ विभागले करिब २ साताअघि २७ वटा इरानी एयरलाइन्सलाई प्रतिबन्धित सूचीमा राखेको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


