पोखरामा अभ्यास खेल: गण्डकीविरुद्ध भुटान ९६ रनमा समेटियो

पोखरा भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टोली गण्डकी प्रदेशविरुद्धको पहिलो अभ्यास खेलमा ९६ रनमा अलआउट भएको छ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको भुटानी टोली १९ ओभर ३ बलमा सबै १० विकेट गुमाउँदै समेटिएको हो। भुटानका तर्फबाट सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले बराबर २७ रन जोडेका छन्।
नामगे थिन्लेले १६ रन बनाएका छन् भने ताशी फुन्छो ९ रनमा अविजित रहेका छन्। तेन्जिन राब्गे, गाकुल कुमार घाले र ताशी चोपेल खाता नखोली आउट भएका छन्। थिन्ले जम्त्सोले ७ रन बनाए भने नामगाङ चोजे, ताशी दोर्जी र सोनाम येशे जनही २ रनमा आउट भएका छन्।
गण्डकीका सुवास भण्डारी सबैभन्दा सफल बलर बनेका छन्। उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका छन्। अपराजित पौडेलले ३ विकेट लिएका छन् भने कप्तान बिपिन खत्री, सुदीप अर्याल र सिव्रिन श्रेष्ठले एक-एक विकेट हात पारेका छन्।
यससँगै गण्डकी प्रदेशलाई जितका लागि ९७ रनको लक्ष्य मिलेको छ। तालिकाअनुसार भुटानले पोखरामा गण्डकी प्रदेश र क्यान एकादशसँग दुई-दुई अभ्यास खेल खेल्ने कार्यक्रम छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


