रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मीको रेसुङ्गामा साहसिक पर्यटनका लागि बनाइएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। रेसुङ्गा नगरपालिकाका अनुसार परीक्षणसँगै यी संरचना सञ्चालनको तयारी पूरा भएको छ। नगरपालिकाको आयोजनामा गर्जुरामा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको हो।
परीक्षणका क्रममा करिब ४० जनाले दुवै सेवाको अनुभव लिएका छन्। सहभागी लक्ष्मी खनालले जिपलाइन पार गर्न झन्डै ५८ सेकेन्ड लागेको र यात्रा सहज रहेको बताउनुभएको छ। अर्का सहभागी प्रकाश भलामीले ढिलै भए पनि सेवा सुरु हुन लागेकोमा खुसी व्यक्त गर्नुभएको छ।
नगरप्रमुख खिलध्वज पन्थीले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर सेवा सुरु गरिएको र यसले पर्यटक आगमन बढाउने बताउनुभएको छ। प्रशासकीय अधिकृत विनोद मरासिनीका अनुसार एक साताभित्र नियमित सेवा सुरु हुनेछ। हाललाई नगरपालिका आफैँले यसको व्यवस्थापन गर्नेछ।
जिपलाइनका लागि ६ सय र स्काई साइक्लिङका लागि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। खनाल इन्फ्रा प्रालिले करिब एक करोड २५ लाख रुपैयाँको सम्झौतामा निर्माण थालेको यो योजना विभिन्न कारणले लामो समय अलपत्र परेको थियो। परीक्षण बाँकी हुँदा ठेकेदारको भुक्तानीसमेत रोकिएको थियो।
करिब २ हजार ३०० मिटर उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ्रे र धौलागिरिलगायत हिमशृङ्खला देख्न सकिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


