९ असोज २०८३ English
English

युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसले पहिलोपटक संसदीय निर्वाचन गरायो

· १ मिनेट पढाइ
युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसले पहिलोपटक संसदीय निर्वाचन गरायो
तस्बिर: नेपाल प्रेस

रुसले युक्रेनबाट कब्जा गरेका क्षेत्रका बासिन्दालाई पहिलोपटक आफ्नो संसद स्टेट डुमाको निर्वाचनमा मतदान गराएको छ। रुसभर मतदान शुक्रबार सुरु भएको छ र आइतबार सकिनेछ। कब्जा गरिएका भूभाग र केही सीमावर्ती क्षेत्रमा भने सुरक्षा कारणले गत महिनाको अन्तिमतिरै मतदान थालिएको छ।

डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रमा करिब ३५ लाख मतदाता रहेको रुसी अधिकारीहरूले जनाएका छन्। सन् २०२२ सेप्टेम्बरमा रुसले यी क्षेत्र गाभेको घोषणालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। डोनेत्स्कको एक मतदान केन्द्रमा हतियारधारी रुसी सैनिकको उपस्थितिमा मतदाताले मत खसालेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ती भूभाग रुसमा ‘पुनर्मिलन’ भएपछि त्यहाँका नागरिकले पहिलोपटक स्टेट डुमा चुन्न लागेको बताउनुभएको छ। युद्धमा खटिएका रुसी सैनिकले पनि मतदान गर्ने उहाँले उल्लेख गर्नुभएको छ। युक्रेनले यो मतदानलाई गैरकानुनी भन्दै विदेशी सरकार र अन्तर्राष्ट्रिय संस्थालाई मान्यता नदिन आग्रह गरेको छ।

युरोपेली आयोगका प्रवक्ता क्रिश्चियन विग्यान्डले यो मतदान अन्तर्राष्ट्रिय कानुनविपरीत भएकाले युरोपेली सङ्घले यसको परिणाम स्वीकार नगर्ने बताउनुभएको छ। डोनबास एसओएस समूहकी संयोजक भायोलेटा आर्टेमचुकले स्थानीय निर्वाचन अधिकारी सैनिकसहित घरदैलोमा पुगेर मतदान गर्न दबाब दिइरहेको आरोप लगाउनुभएको छ। सरकारी कर्मचारीलाई जागिर खोसिने धम्की दिइएको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार