भोटेकोशी बाढी प्रभावित सामुदायिक कुकुरलाई खाद्य सहयोग

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि भोकै परेका सामुदायिक कुकुरका लागि हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्याइएको छ। नेपाल पशु कल्याण तथा वातावरण समाजले स्याफ्रुबेँसी पुगेर उक्त सहयोग गरेको हो। बाढीले सडक र यातायात सम्पर्क टुटाएपछि ती कुकुर राहत र उद्धारको पहुँचबाट बाहिर परेका थिए।
‘टेम्पल डग रेस्क्यु’ नामक संस्थाले खर्च बेहोरेको र विश्व खाद्य कार्यक्रमको हेलिकप्टर प्रयोग गरिएको समाजले जनाएको छ। स्याफ्रुबेँसी क्षेत्रमा रहेका ६० भन्दा बढी सामुदायिक कुकुरले यसपटक खाद्य सहयोग पाएका छन्। समाजकी अध्यक्ष सुमेदा गौतमले मानिसलाई राहत पुगिरहँदा बोल्न नसक्ने जनावर भोकै नरहून् भनेर यो पहल गरिएको बताउनुभएको छ।
कठिन अवस्थामा रहेका यी जीवसम्म केही खाना पुर्याउन सक्नुलाई उहाँले ठूलो सन्तोषको विषय भन्नुभएको छ। समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद् व्यवस्थापन मानिसमा मात्र केन्द्रित हुन नहुने बताउनुभएको छ। उहाँका अनुसार विपद्मा पशु पनि उत्तिकै पीडित हुने भएकाले तिनको जीवन र कल्याणलाई राहत योजनाकै अंग बनाउनुपर्छ।
पशु कल्याण क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेलले विपद्का बेला पशुको अवस्था झन् जोखिमपूर्ण हुने भएकाले हरेक उद्धार प्रयासमा उनीहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


