प्रसारण लाइनको तार फेरिँदै, काठमाडौँ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको तार फेर्ने कामका कारण काठमाडौँ उपत्यकामा भोलि शनिबार र पर्सि आइतबार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज २४ र २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त लाइन बन्द राखिनेछ। उपत्यकामा बिजुली आपूर्ति अझ भरपर्दो, गुणस्तरीय र दिगो बनाउन लाइनको क्षमता बढाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले डबल सर्किट लाइनमा कम क्षमताको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको एचटीएलएस कन्डक्टर जोड्दै छ। एउटा सर्किटमा करिब चार सय मिटर तार फेर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। लाइन बन्द रहँदा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट बिजुली पाउने क्षेत्रमा असर पर्न सक्नेछ।
तार फेरिएपछि लाइनको विद्युत् वहन क्षमता बढ्ने र माग व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


