भारतको इन्डिया गठबन्धनको बैठक, निर्वाचन आयोगविरुद्ध सडक आन्दोलनको घोषणा

भारतका विपक्षी दलहरूको गठबन्धन 'इन्डिया' ले निर्वाचन आयोगविरुद्ध अक्टोबर २ देखि ८ सम्म देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। नयाँदिल्लीको कन्स्टिच्युसन क्लबमा बुधबार करिब तीन घण्टा चलेको गठबन्धनको आठौँ बैठकले यो निर्णय गरेको हो। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको अध्यक्षतामा बसेको बैठकमा १९ दल सहभागी भएको कांग्रेस नेता जयराम रमेशले जनाउनुभएको छ।
बैठकमा स्पेसल इन्टेन्सिभ रिभिजन तथा इभीएम र भीभीप्याटसम्बन्धी विवादमा छलफल भएको थियो। खड्गेका अनुसार आन्दोलनका क्रममा जिल्ला अधिकारी कार्यालयबाहिर प्रदर्शन गरिनेछ। गठबन्धनले आयोगमार्फत मत चोरी भइरहेको आरोप लगाउँदै चुनाव मतपत्रबाटै गराउनुपर्ने माग गरेको छ।
खड्गेले आयोगभित्रका केही व्यक्तिलाई नरेन्द्र मोदी र अमित शाहले कठपुतलीझैँ चलाइरहेको आरोप लगाउनुभएको छ। कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीले चुनाव प्रभावित गर्न मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई प्रयोग गरेको आरोप लगाउनुभएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आयुक्त कुमारले निष्पक्षता गुमाएको र इभीएम ह्याक भएको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ।
आयोगले भने आफ्ना निर्णय कानुनसम्मत प्रक्रिया र संस्थागत छलफलका आधारमा हुने दाबी गर्दै आएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


