१७ असोज २०८३ English
English

गुल्मीमा खसीबोका बिक्रीबाट वार्षिक करिब एक अर्बको कारोबार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गुल्मीमा खसीबोका बिक्रीबाट वार्षिक करिब एक अर्बको कारोबार

YouTube मा सब्स्क्राइब

गुल्मी जिल्लामा खसीबोका बिक्रीबाट वार्षिक करिब एक अर्ब रुपैयाँको कारोबार हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयका अनुसार जिल्लाबाट हरेक वर्ष करिब १४ हजार ६०० खसीबोका अन्य जिल्लामा पठाइने गरेका छन्। यसरी बाहिर बिक्री हुँदा वार्षिक करिब २६ करोड २८ लाख रुपैयाँ जिल्लामा भित्रिने गरेको उहाँले बताउनुभएको छ।

बाहिर जानेमध्ये करिब ६०० बोका प्रजननका लागि र करिब १४ हजार मासुका लागि बिक्री हुने केन्द्रले जनाएको छ। जिल्लामा हाल करिब दुई लाख बाख्रा रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा जमुनापारी, बोयर र सिरोही खरीक्रस जातका बाख्रा मुख्य रूपमा पालिएका छन्।

धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर रहेको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभएको छ। उहाँका अनुसार त्यहाँ जिउँदो खसीबोका प्रतिकिलो करिब ५५० रुपैयाँमा बिक्री भई बुटवललगायतका सहरमा पठाइएका छन्। गुल्मीको स्थानीय बजारमा खसीबोकाको मासु प्रतिकिलो करिब ९५० रुपैयाँमा बिक्री भइरहेको छ।

कृषिका अन्य क्षेत्रभन्दा छिटो आम्दानी हुने र घरमै उचित मूल्यमा खरिदकर्ता पाइने भएकाले किसानको आकर्षण बढेको हो। केन्द्रले किसान र समूहलाई खोर निर्माण, उन्नत बीउ बोका, खोप तथा मेसिनरी खरिदमा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ।

स्रोत

सम्बन्धित समाचार