नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे मार्फत भुक्तानी स्वीकार गर्ने सेवा

एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सुरु गरेको छ। यो सुविधा बैंकको ई-कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यावसायिक ग्राहकका लागि हो। बैंकको साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध वा आबद्ध हुन चाहने व्यवसायीले विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत भुक्तानी लिन सक्नेछन्।
यसका लागि भुक्तानीकर्ताले एप्पल पे वा गुगल पेमा भिसा वा मास्टरकार्ड जोडेको हुनुपर्छ। एप्पल पे र गुगल पे विश्वव्यापी मान्यता पाएका मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्, जसमा कार्डको विवरण एप्पल वा एन्ड्रोइड मोबाइलमा टोकनाइज गरिन्छ। यसले विदेशी ग्राहकलाई भौतिक कार्ड प्रयोग गर्ने झन्झटबिना भुक्तानी गर्न सजिलो बनाउँछ।
बैंकका अनुसार होटल, टुर्स एन्ड ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई-कमर्स र सूचना प्रविधि क्षेत्रका व्यवसायीले यसको विशेष उपयोग गर्न सक्छन्। पर्यटन, आतिथ्य र निर्यात व्यवसायको अन्तरदेशीय कारोबार विस्तारमा यो सेवा सहयोगी हुने बैंकको विश्वास छ। डिजिटल भुक्तानीलाई आधुनिक, सरल र सुरक्षित बनाउने उद्देश्यले यो सेवा ल्याइएको बैंकले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

