१४ कात्तिक २०८३ English
English

रोशी, बागमती, मनोहरासहितका नदी सतर्कता तहमाथि, इङ्खुमा पहिरोले अस्थायी बाँध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रोशी, बागमती, मनोहरासहितका नदी सतर्कता तहमाथि, इङ्खुमा पहिरोले अस्थायी बाँध

YouTube मा सब्स्क्राइब

रोशी, बागमती, कोड्कु र लालबकैयासहितका खोलामा पानीको सतह सतर्कता तह नाघेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा काभ्रेको रोशी र पनौती तथा ललितपुरको खोकनामा बागमतीले सतर्कता तह पार गरेका हुन्। ललितपुरको झरुवारासीमा कोड्कु र मकवानपुरको झुरेलीबजारमा लालबकैया खोलाको सतह पनि बढ्दो क्रममा छ।

उपत्यकाका धोबीखोला र विष्णुमतीमा पनि बहाव बढेकाले महाशाखाले खोला छेउका सडकमा यात्रा नगर्न आग्रह गरेको छ। च्यासलमा मनोहरा नदीको बहाव बढेपछि सशस्त्र प्रहरी बलको दक्षिणकालीस्थित २१ नम्बर गण परिचालनका लागि तयार राखिएको छ। प्रशासनले नदीको भेल हेर्न किनारतिर नजान अनुरोध गरेको छ।

ललितपुरकै इमाडोलमा कर्मनासा खोलाको पानी बस्ती र सडकमा पसेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि लगातार पहिरो झर्दा इङ्खु खोलामा अस्थायी बाँध बनेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बताउनुभएको छ। बाँध फुटे पानी एकाएक बढ्न सक्ने भएकाले इङ्खु, दूधकोशी र सप्तकोशी किनारका बासिन्दालाई सजग रहन उहाँले आग्रह गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार भने खोलाको बहाव अझै पूरै रोकिएको छैन। मनाङ र लमजुङ आसपासका साना खोलामा पनि अचानक भेल आउन सक्ने भन्दै महाशाखाले बेलुकासम्म सावधान रहन भनेको छ। शनिबार दिउँसोसम्म वर्षा र हिमपात जारी रहने र त्यसपछि झरी घट्दै जाने मौसमविद्ले बताएका छन्।

स्रोत

सम्बन्धित समाचार