सभापोखरीलाई सोझो सेटमा हराउँदै पुलिसले जित्यो मदन भण्डारी कप

नेपाल पुलिस क्लबले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनलमा पुलिसले संखुवासभाको सभापोखरी भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले तीनै सेट २५–२३, २५–२३ र २५–२२ ले जितेको थियो।
भारतीय खेलाडीसहित उत्रिएको सभापोखरी लिग चरणमा राम्रो खेलेर फाइनलमा चुकेको हो। विजेता पुलिसले सात लाख रुपैयाँ र उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्। तेस्रो स्थानको खेलमा एपीएफ क्लबले पन्जाबको खैरा भलिबल क्लबलाई ३–१ सेटले हराएको छ।
एपीएफले एक लाख ७५ हजार र चौथो खैराले ७५ हजार रुपैयाँ पाएका छन्। पुलिसका पहल गहतराज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। एपीएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर र पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर बनेका छन्।
पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर र चन्द्र कुँवल उत्कृष्ट प्रशिक्षक चुनिएका छन्। लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री रामजी घिमिरेलगायतले विजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभएको छ। असोज १२ गतेदेखि सुरु भएको दोस्रो संस्करणको प्रतियोगितामा तीन विदेशी र चार स्वदेशी गरी सात टोली सहभागी थिए।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

