२५ असोज २०८३ English
English

बाढी उद्धारमा जुट्न कांग्रेस सभापति थापाको आग्रह, सरकारको ध्यानाकर्षण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी उद्धारमा जुट्न कांग्रेस सभापति थापाको आग्रह, सरकारको ध्यानाकर्षण

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। आइतबार बिहान आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेत क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको छ।

न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगेको छ। सभापति थापाले सामाजिक सञ्जालमार्फत यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले बूढीगण्डकीदेखि त्रिशूली नदीसम्मका तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ।

स्थानीय प्रशासनले दिने निर्देशन पालना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। महाधिवेशन सकेर घर फर्किरहेका नेता कार्यकर्तालाई सुरक्षित रूपमा फर्कन र प्रभावित क्षेत्र आसपासका साथीहरूलाई तत्काल उद्धारमा जुट्न थापाले भन्नुभएको छ। थापाले आफू सुरक्षित रहँदै विपद् प्रभावित क्षेत्रमा काम गर्न कार्यकर्तालाई सचेत गराउनुभएको छ।

यसैबीच कांग्रेसले औपचारिक विज्ञप्ति जारी गरी बाढीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ।

विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

स्रोत

सम्बन्धित समाचार