बाढीप्रति शीर्ष नेताको चिन्ता, प्रभावित क्षेत्रमा भ्रमण

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीप्रति विभिन्न दलका शीर्ष नेताले दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्। केही नेता प्रभावित क्षेत्रतर्फ पुगेका पनि छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री कुलमान घिसिङले आरुघाट पुगेर बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासहित प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा जान लाग्नुभएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रभावितको उद्धारमा सरकारी निकायसँग समन्वय गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुगेको र न्याक्चेत–फिलिम पुल बगेको खबरले आफू मर्माहत भएको उहाँले बताउनुभएको छ। कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न केन्द्रीय तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूरा शक्ति लगाउन अपिल गर्नुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशन आयोजक तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बूढीगण्डकी र त्रिशूली किनारका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले उद्धार र मानवीय सहयोगमा सक्रिय हुन पार्टीका नेता कार्यकर्तालाई भन्नुभएको छ।
चुमनुब्री गाउँपालिका–३ मा बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको बाढी आएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


