९ असोज २०८३ English
English

बिपी राजमार्गको ट्रयाक निर्माण स्थगित, काभ्रे खण्डमा राति सवारी रोक

· १ मिनेट पढाइ
बिपी राजमार्गको ट्रयाक निर्माण स्थगित, काभ्रे खण्डमा राति सवारी रोक
तस्बिर: इमेजखबर

सरकारले भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गरी निर्माण रोकेर यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउने तयारी गरिएको हो। यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन उहाँले सम्पूर्ण यात्रु तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।

काभ्रेपलाञ्चोकको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म बीपी राजमार्गको काभ्रे खण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। वर्षा र बाढीको अवस्था हेरेर दिउँसो पनि सवारी रोक्नुपर्ने देखिए जिल्ला प्रहरी कार्यालयले निर्णय लिने उहाँले बताउनुभएको छ। जिल्लास्थित सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी चलाउन दिने भएको छ। मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिनपछि यो समयतालिका तय गरिएको हो। नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघले असोज ८ देखि १२ गतेसम्म टाढा र रातिको यात्रा नगर्न आफ्ना सदस्यलाई आह्वान गरेको छ।

यो समाचार भिडियोमा

बिपी राजमार्गको ट्रयाक निर्माण स्थगित, काभ्रे खण्डमा राति सवारी रोक

स्रोत

सम्बन्धित समाचार