नदी र विपद् जोखिमबारे हरेक घण्टा अध्यावधिक सूचना दिइने

सम्भावित भारी वर्षाबाट निम्तिने बाढी र पहिरोको जोखिम मध्यनजर गर्दै सरकारले नदीको अवस्था र विपद् जोखिमबारे हरेक घण्टा अध्यावधिक सूचना दिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको जलसतह रियल टाइममा निगरानी गरिनेछ। नदी कहिले खतराको तहमा पुग्छ र त्यसले कस्तो प्रभाव पार्छ भन्ने प्राविधिक विश्लेषण गरी सूचना अद्यावधिक गरिने उहाँले जानकारी दिनुभएको छ।
जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभएको छ। उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावना देखिएपछि रेड अलर्ट जारी गरिएको छ भने जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा जान र ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न एडभाइजरी दिइएको छ। शुक्रबार र शनिबार अत्यावश्यक नपरी यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगी पूर्वसूचना प्रणाली बलियो बनाउन निर्देशन दिनुभएको थियो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार प्रमुख नदीको बाढी पूर्वानुमान अवधि ३ दिनबाट ५ दिन र आकस्मिक बाढी जोखिमको पूर्वानुमान १ दिनबाट २ दिन पुर्याइएको छ।
यो सुधार केन्द्रकै नेपालकेन्द्रित बाढी पूर्वानुमान मोडेलमा आधारित रहेको जनाइएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


