२४ घण्टामा सबैभन्दा धेरै पानी कास्कीको पञ्चासेमा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा देशकै सबैभन्दा धेरै, करिब १८९ मिलिमिटर वर्षा भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा करिब १७२, गुल्मीको भार्सेमा झन्डै १७१ र म्याग्दीको कुहुनमा करिब १६५ मिलिमिटर पानी परेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला र म्याग्दीको मङ्गलघाटमा नदीले सतर्कता तह पार गरेको छ।
पर्वत, लमजुङ, चितवन र भोजपुरका नदीनाला पनि सतर्कता तह नजिक पुगेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव छ। भारतको छत्तीसगढ र मध्य प्रदेशतिर रहेको न्यून चापीय प्रणाली उत्तर प्रदेशतर्फ सर्दै कमजोर हुने विभागले जनाएको छ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। भोलि लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। पोखरा, नेपालगञ्ज र वीरेन्द्रनगरमा आज वर्षाको सम्भावना १०० प्रतिशत छ।
काठमाडौँमा यो सम्भावना ६० प्रतिशत र तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ। आज मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


