खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटक सुरक्षित निकालिए

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि इम्जा छे अर्थात् आइल्यान्ड पिक क्षेत्रमा अड्किएका ७ जना विदेशी पर्यटकलाई सुरक्षित स्थानमा ल्याइएको छ। लगातारको वर्षापछि माथिल्लो भेगमा हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमेको छ।
उहाँका अनुसार ती पर्यटक चिनियाँ मूलका युरोपेली नागरिक हुन्। स्थानीय जनप्रतिनिधि, बासिन्दा र सुरक्षा निकायको सहकार्यमा उनीहरूको उद्धार गरिएको प्रशासनले जनाएको छ। पदयात्रा र पर्वतारोहणका लागि माथि पुगेका पर्यटकलाई जोखिमपूर्ण स्थानतर्फ अघि बढ्न रोक लगाइएको छ।
स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग मिलेर पर्यटकलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताउनुभएको छ। यता डोल्पामा पनि प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको सुरक्षाबारे चिन्ता बढेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका करिब १०२ पर्यटक जिल्लाबाट बाहिरिएको विवरण अझै आएको छैन।
तीमध्ये अधिकांश विदेशी नागरिक छन्। उपल्लो डोल्पामा जुनसुकै बेला हिमपात हुन सक्ने र तत्काल आश्रय लिने संरचना पर्याप्त नभएकाले जोखिम बढेको हो। प्रशासनले सम्बन्धित निकाय र सरोकारवालालाई पर्यटकको अवस्था बुझ्न र आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


