गोरखा दरबारको फूलपाती हनुमानढोका दसैँघरमा भित्र्याइयो

बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ। गोरखा दरबारमा बिहान ९ बजेको शुभसाइतमा पूजाअर्चना गरी बाजागाजा र र्यालीसहित डोली बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूल पुजारी राजेन्द्र अर्यालले बताउनुभएको छ। सुसारेहरूले तयार पारेको डोली सरकारी गाडीमार्फत राजधानी ल्याइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिनुभएको छ।
शुक्रबार पस्लाङ क्षेत्रको वनबाट हलेदो, धान, बेल, जयन्ती झार र मानेलगायतका फूलपाती संकलन गरिएको पुजारी सारु मगरले बताउनुभएको छ। गोरखा दरबार हेरचाह अड्डाका अनुसार २०६६ सालदेखि फूलपाती पैदल नभई मोटरबाटो हुँदै पठाउन थालिएको हो। मध्याह्न हनुमानढोका आइपुगेको डोलीलाई सर्वसाधारण र नजिकका देवीदेवताको दर्शन गराइएको छ।
सो क्रममा वसन्तपुरको मुख्य दरबारअगाडि नेपाली सेनाको टुकडीले बन्दुक पड्काएर सलामी दिएको छ। स्थानीयले बाजागाजासहित स्वागत गरेपछि दरबार परिसर परिक्रमा गराएर डोलीलाई सेनाले तयार पारेको दसैँघरमा पुर्याइएको छ। गोरखाबाट हरेक वर्ष फूलपाती काठमाडौँ ल्याउने चलन पृथ्वीनारायण शाहले राजधानीबाट शासन सुरु गरेपछि थालिएको मान्यता छ।
गोरखाकाली मन्दिरको दसैँघरमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याइने कार्यक्रम छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

