लिग–२: सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार ओमानमा भइरहेको खेलमा क्यानडाले नेपाललाई जित्न २५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाको पारी ओमान क्रिकेट एकेडेमी मैदानमा ५० ओभरमा २५६ रनमा सकिएको छ। ओपनर युवराज सम्राले ११७ बलमा ११ चौका र ४ छक्कासहित १०५ रनको शतकीय पारी खेलेका छन्।
आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन जोडेका छन्। तीन विकेटमा २१९ रन पुर्याइसकेको क्यानडाले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको छ। नेपालका तर्फबाट ललित राजवंशीले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिएका छन्।
सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट हात पारेका छन्। नेपालले यस खेलका लागि सन्दीप जोराको सट्टा गुल्सन झालाई अन्तिम एघारमा समेटेको छ। यही शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई पराजित गरिसकेको छ।
अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौँ र क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौँ स्थानमा छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन यो खेल नेपालका लागि निर्णायक मानिएको छ। नेपाल जितेमा छैटौँ स्थान पक्का हुनेछ।
हारेमा क्यानडा छैटौँमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


