९ असोज २०८३ English
English

एनपीएल: पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा

· १ मिनेट पढाइ
एनपीएल: पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा
तस्बिर: बिजमाण्डू

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका लागि पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमदलाई अनुबन्ध गरेको छ। उनी जनकपुरले घोषणा गरेका तेस्रो विदेशी खेलाडी हुन्। टोलीले यसअघि अमेरिकाका हरमीत सिंह र न्युजिल्याण्डका जिम्मी निशमलाई अनुबन्ध गरिसकेको छ, जसमा हरमीतले कप्तानी गर्नेछन्।

३६ वर्षीय इफ्तिखारले पाकिस्तानका लागि ४ टेस्ट, २८ एकदिवसीय र ६६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनको एक मात्र शतक नेपालविरुद्ध आएको हो। सन् २०२३ को एसिया कपमा मुल्तानमा उनले ७१ बलमा ११ चौका र ४ छक्कासहित अविजित १०९ रन बनाएका थिए।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा उनले ४ अर्धशतकसहित ९९८ रन बनाएका छन् र ८ विकेट लिएका छन्। समग्र टी-ट्वान्टी क्रिकेटमा ३२९ खेल खेलेका उनको नाममा ६ हजार १९६ रन र ९७ विकेट छन्। एकदिवसीयमा १०६ र टी-ट्वान्टी अन्तर्राष्ट्रियमा १२९ भन्दा माथिको स्ट्राइक रेटमा रन बनाएका इफ्तिखार अफ स्पिन बलिङ पनि गर्छन्।

उनीसँग क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव छ। एनपीएलका अन्य फ्रेन्चाइजी टोलीहरूले पनि विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन्। एनपीएल कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

यो समाचार भिडियोमा

एनपीएल: पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा

स्रोत

सम्बन्धित समाचार