एसियाड: पुरुष कबड्डीमा मलेसियामाथि जित, पौडीमा अविभको राष्ट्रिय कीर्तिमान

जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ७३–५२ अंकले पराजित गरेको छ। बिहीबार नागोयामा भएको समूह 'बी' को खेलमा नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो। दोस्रो हाफमा मलेसियाले कडा प्रतिस्पर्धा गर्दै ३१ अंक जोडे पनि नेपाल ३६ अंकसहित अघि रह्यो।
नेपालले समग्रमा २१ अंकको फराकिलो अन्तरले मलेसियामाथि जित निकालेको हो। नेपाल यसअघि पाकिस्तान र इरानसँग पराजित हुँदै सेमिफाइनलको दौडबाट बाहिरिइसकेको थियो। समूह 'बी' बाट पाकिस्तान र इरानले सेमिफाइनलमा स्थान बनाएका छन्।
त्यसैले मलेसियामाथिको जित नेपालका लागि सान्त्वनाको जित बनेको छ। उता महिला कबड्डी टोलीले भने श्रीलङ्कालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। यता पौडीमा नेपाली खेलाडी अविभ प्रधानले पुरुष ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
बिहीबार जापानको राजधानीस्थित टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा उनले २६ दशमलव ०५ सेकेन्डको समय निकालेका हुन्। उनले नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा बनाएको २६ दशमलव ४० सेकेन्डको आफ्नै पुरानो कीर्तिमान तोडेका छन्। प्रधान हिट-२ मा चौथो भएका थिए।
यो विधामा ४४ खेलाडीले भाग लिएका थिए, जसमा उनी समग्रमा ३१औँ स्थानमा रहे।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

