९ असोज २०८३ English
English

विमानस्थलमा दुई महिनामा सुनसहित ४५ जना नियन्त्रणमा

· १ मिनेट पढाइ
विमानस्थलमा दुई महिनामा सुनसहित ४५ जना नियन्त्रणमा
तस्बिर: नेपाल लाइभ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनामा सुनसहित ४५ जना नियन्त्रणमा परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरू नियन्त्रणमा परेका हुन्। कार्यालयका अनुसार उनीहरूको साथबाट करिब एक किलो ६४३ ग्राम सुन बरामद भएको छ।

बरामद सुनको अनुमानित मूल्य करिब चार करोड २५ लाख रुपैयाँ रहेको जनाइएको छ। विदेशबाट विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार भइरहेको सूचनाका आधारमा सुरक्षा जाँच गरिएको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा विदेशबाट फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारेर तस्करले सुन भित्र्याउन खोजेको देखिएको छ।

यात्रु तथा सामानको निगरानी, जोखिममा आधारित सुरक्षा जाँच र एक्स–रे स्क्रिनिङका क्रममा सुन बरामद भएको कार्यालयको भनाइ छ। यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने समूहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीले जनाएको छ। बरामद सुन तथा नियन्त्रणमा लिइएका व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप प्रक्रिया अघि बढाइएको छ।

स्रोत

सम्बन्धित समाचार