९ असोज २०८३ English
English

कृष्णभीरमा दुईतर्फी सवारी सुचारु, ग्यास बुलेटको आवागमन खुल्यो

· १ मिनेट पढाइ
कृष्णभीरमा दुईतर्फी सवारी सुचारु, ग्यास बुलेटको आवागमन खुल्यो
तस्बिर: गोरखापत्र

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण गरी दुईतर्फी सवारी सञ्चालन सुरु भएपछि राजमार्गमा आवतजावत सहज बन्दै गएको छ। पहिरोका कारण करिब १८ दिन अवरुद्ध रहेको सो खण्डमा बिहीबार बिहानैदेखि सवारीसाधन सहज रूपमा चलिरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप बढे पनि कृष्णभीर वरपर हालसम्म जाम वा अवरोध नरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

सडक खुलेपछि एलपी ग्यासका बुलेट काठमाडौँ भित्रिन थालेका छन् र धादिङ, बनेपा तथा दक्षिणकालीलगायतका बोटलिङ प्लान्टमा लामो समयपछि सिलिन्डर भरिन थालेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा साविककै मूल्यमा ग्यास बिक्री–वितरण गर्न विक्रेतालाई आग्रह गरेको छ। वैकल्पिक मार्ग हुँदै ढुवानी गर्दा भाडा बढेको भन्दै संघले यसअघि प्रतिसिलिन्डर करिब १०५ रुपैयाँ थप गर्न भनेको थियो।

नेपाल आयल निगमले तोकेको एलपी ग्यासको मूल्य हाल प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ छ। भारतको बरौनीबाट बिहीबार करिब ४५ बुलेट ग्यास लोड भएको ग्यास उद्योगीले जनाएका छन्। सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा भदौ २२ गतेदेखि भइरहेको भीर स्थिरीकरणको काम केही दिनका लागि रोकिएको छ।

स्रोत

सम्बन्धित समाचार