बागमतीमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित

बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालयमा हाल कायम दरबन्दीमध्ये करिब १३४ पद कटौती गर्ने निर्णय गरेको छ। प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित हेटौँडामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकले कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै उक्त निर्णय लिएको थियो।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार प्रदेश सरकारअन्तर्गतका कार्यालयको सङ्ख्या करिब १८० कायम गरिएको छ। उहाँका अनुसार हाल कायम करिब चार हजार ८१४ दरबन्दी घटाएर करिब चार हजार ६८० कायम गर्ने प्रस्ताव गरिएको छ। लामो समयदेखि अन्योलमा रहेको उक्त सर्वेक्षण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत रहेर स्वीकृत भएको हो।
बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म करिब २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। समितिको कामकाज सम्पन्न भएपछि ती अस्थायी दरबन्दी स्वतः समाप्त हुने व्यवस्था गरिएको मन्त्री केसीले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


