सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने, हुम्लावासी हिउँमै हिँडेर घर

हिमपातले अवरुद्ध हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी हिउँ पन्छाउने काम जारी छ। सडक नखुल्दै चीनको ताक्लाकोटमा काम गरिरहेका हुम्लाका युवायुवती भने नारा लेकको हिउँमा हिँडेर घर फर्किएका छन्। योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार करिब ९५ किलोमिटर सडकमध्ये यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटरमा बाक्लो हिउँ जमेको छ।
नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा झन्डै पाँच मिटरसम्म हिउँ थुप्रिएको उहाँले बताउनुभएको छ। तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन कठिन भएको हो। हिउँ हटाउन उपकरण र जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ।
सशस्त्र प्रहरी बलको हिल्सा बोर्डर आउट पोस्टका अनुसार करिब २४० जना हुम्लावासी हिल्साबाट करिब चार घण्टा हिउँमा हिँडेर नारा लेक पुगेका थिए। उनीहरूमा करिब ८० महिला र करिब १६० पुरुष छन्। घटस्थापनादेखि ताक्लाकोटमा काम गरिरहेका उनीहरू दसैँ मनाउन घर फर्किएका हुन्।
नारा पुगेपछि उनीहरू गाडीको व्यवस्था गरेर आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कर्णाली प्रदेशको हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने भोलि आंशिक बादल लाग्नेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

